निकै कसिला लुगा लगाउँदा रक्तसंचार प्रणालीमा असर पूराउने तथा त्यसले विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्या ल्याउने तथ्य त वैज्ञानिकहरुले यसअघि नै पत्ता लगाएका थिए ।
तर खुकुला लुगा लगाउँदा पुरुषको प्रजनन स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्छ र शुक्रकिटको गुणस्तर बढ्छ भन्ने कुरा भने सुनिएको थिएन । हालैको एक अध्ययनले भने खुकुला लुगा लगाउने पुरुषमा शुक्रकिटको गुणस्तर बढ्ने तथ्य पत्ता लगाएको छ ।
बेलायतको शेफिल्ड तथा म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुले ९३९ जना यस्ता पुरुषको जिवनशैलीको अध्ययन गरे जसको शुक्राणुको गुणस्तर खासै राम्रो थिएन । ती पुरुषको शुक्राणुको तुलना उनीहरुले राम्रो जिवनशैली अपनाएका १३१० पुरुषको शुक्राणुसँग गरे ।
यो अध्ययनले के देखायो भने कहिल्यै धूमपान नगर्ने र दिनमा २० खिल्ली चुरोट पिउने मानिसको शुक्राणुको गुणस्तरमा खासै भिन्नता रहेन । त्यस्तै मदिरा सेवन तथा मोटोपनले पनि शुक्राणुको गुणस्तरमा खासै असर नपूराउने पाइयो । शुक्राणुको गुणस्तरमा खानपान तथा अरु जिवनशैलीले भन्दा लगाउने लुगाले असर पार्ने कुरा शोधकर्ताहरुले निष्कर्ष निकाले ।
खुकुला अन्तरवस्त्र तथा बक्सर सर्ट लगाउँदा पुरुषको यौन स्वास्थ्यमा सकारात्मक असर पर्ने निष्कर्ष उनीहरुको छ । शोधकर्ताहरुको सुझाव यो छ की, यदि तपाइँले कसिलो कट्टु, पाइन्ट तथा शर्ट लगाउने गर्नुभएको छ र बाबु बन्ने विचारमा हुनुहुन्छ भने पहिले खुकुला लुगा लगाउने बानी गर्नुहोस् अनीमात्र बिजारोपणको बारेमा सोँच्नुहोस् ।